Sunday, January 29, 2017

मधुमेहका बिरामीलाई कस्ता समस्याले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ?



डा अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पताल

मधुमेहका असरलाई अल्पकालीन र दिर्घकालीन गरी २ भागमा बाडिन्छ । अल्पकालीन असर सुगर कम हुने समस्या हो । यसले रगतमा ग्लुकोजको मात्रा घट्न गई बिभिन्न समस्यामा हात काम्ने, बान्ता हुने, टाउको दुख्ने, मुटुको धडकन बढ्ने, शरीरको तापक्रम घट्ने जस्ता समस्या देखिन्छ । समयमा खाना नखाँदा, रक्सी सेवन गर्दा, औषधि वा इन्सुलिनको धरै मात्रा भएमा सुगरको मात्रा घट्न जान्छ । टाइप एक मधुमेहको अल्पकालीन असरमा समयमै इन्सुलिन लगाएन भने बेहोस भएर ज्यान जान सक्ने खतरा हुन्छ । केही बिरामीमा चिनीको मात्रा बढेर पिसाबको संक्रमण, निमोनिया आदि हुनसक्छ ।

मधुमेहले ५ वटा दीर्घकालीन प्राणघातक परिणाम जन्माउन सक्दछ । ती हुन् हृदयाघात , मस्तिष्कघात , प्यारालाइसिस, किड्नी फेल, अन्धोपन र खुट्टा कुहिने । यो स्थिति उत्पन्न नहोस् भन्नका लागि नै जनचेतना जगाउन आवश्यक छ । खानपान र व्यायामबाट पनि मधुमेह नियन्त्रणमा आएन भने औषधि खानैपर्ने हुन्छ ।

उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गहरुलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरता बुझ्नु आवश्यक छ ।


मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन सूई लगाउनु पर्छ । इन्सुलिन सूईले अङ्ग बिग्रिने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । कतिपय बिरामीहरु इन्सुलिन लगाउन डराउने गरे पनि इन्सुलिन लगाउन डराउनु पर्दैन ।
रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फ ध्यान दिँदैन । उपचार नगराएको खण्डमा अलि–अलि बढेको ग्लुकोजले पनि आँखामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्ट अट्याक वा हर्ट फेलिएर गराउन सक्छ । मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन पनि सक्छ । यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभित्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चाँडो शुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६–६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनुपर्छ ।

आँखामा असर

दीर्घकालीन मधुमेहले आँखामा पनि असर गर्छ । जसमध्ये सबैभन्दा भयानक आँखाको पर्दामा पार्ने असर हो । जसलाई डायबेटिक रेट्नोप्याथी भनिन्छ । आँखामा विशेष प्रकारको रगतको नशा हुन्छ । मधुमेहले रगतको नलीमा असर पारेमा नलीबाट केही पनि कण बाहिर निस्किन पाउँदैन । जसले गर्दा रगतको नलीबाट विस्तारैविस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यो चिल्लो पदार्थ आँखाको रेटिनामा जम्न थाल्छ । यसरी जम्दै जाँदा आँखाको देख्ने शक्ति कम हुँदै जान्छ । अर्को असर भनेको मधुमेहले आँखामा रहेका साना साना रक्तनली बन्द गराउँछ । जसले गर्दा रेटिनामा रगत पुग्दैन र रेटिनाले रगत माग गर्छ । जसले गर्दा नयाँनयाँ मसिना रगतका नली बढ्दै जान्छन् । यसरी बढ्दै जाँदा रगतका नली फुट्न गई आँखामा रक्तश्राव हुनथाल्छ र दृष्टिशक्ति नै गुम्छ ।

मधुमेहले स्नायुरोगको खतरा

मधुमेहको असर स्नायुमा पनि देखिन्छ । यो एक तिहाई मधुमेहका बिरामीमा अन्यलाई भन्दा चाँडो देखिन्छ । मधुमेहको प्रत्यक्ष असरमा मष्तिस्कघात हुन जान्छ भने अप्रत्यक्ष रूपमा पनि नसामा विभिन्न क्षती पु¥याउँछ । यसले नशामा असर पु¥याउँदा हातखुट्टा झमझम गर्ने, पोल्ने र असहज महसुस हुने, आन्द्राको प्यारालाइसिस, राति पसिना आउने, छाला सुख्खा हुने हुन्छ । नशाका तीनवटै प्रणालीमा मधुमेहको असर हुन्छ ।

मिर्गौलामा असर

मधुमेहको असर मिर्गौलामा निकै खतरनाक हुन्छ । पछिल्ला दिनमा मृर्गौला फेल हुने कारणमध्ये ५० प्रतिशत कारण मधुमेह मानिन्छ । सामान्यतयाः मधुमेह भएका विरामीको दशदेखि पन्ध्रवर्ष भित्र मिर्गौला खराब हुने संभावना बढी हुन्छ । टाइप वान डायबिटिज भएका ३५ देखि ४० प्रतिशत विरामीलाई कुनै न कुनै खालको मिर्र्गौला रोगको संभावना हुन्छ । टाइप टु मधुमेह भएका ५ देखि १० प्रतिशत विरामीको मिर्गौला खराब हुनसक्छ । यसर्थ मधुमेहका बिरामीले प्रत्येक ६/६ महिनामा मिर्गौलाको जाँच गराइरहनु पर्छ ।

मुटुमा असर

मधुमेहका बिरामीको रगतमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यसले रगतको नली थुनिएर हृदयाघातको खतरा बढी हुन्छ । यसमा हृदयाघात हुँदा बिरामीको छाती दुख्दैन । त्यसैले यसलाई सूक्ष्म हृदयाघात भनिन्छ । यस्तो हृदयाघातको मृत्युदर बढी हुन्छ ।

लामो समयसम्म मधुमेहको नियन्त्रण नहँुदा यौन क्षमतामा ह्रास आउँछ । यसका लागि मधुमेह र उच्च रक्तचाप ठिक राख्नुपर्छ । प्रायः उच्च रक्तचापको औषधिले यस्तो समस्या देखिन्छ । यस्तो समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.