Thursday, February 16, 2017

नेपालमा यौनकर्मीको संख्या ५० हजार ? यस्तो आयो सरकारी रिपोर्ट


नेपालमा ६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बर भएको छ । यो अवधिमा महिला यौनकर्मीको संख्या ५० हजार नाघेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अध्ययनले देखाएको छ ।

अध्ययनले देशमा महिला यौनकर्मीको संख्या अनुमानित ५४ हजार रहेको जनाएको छ । यो संख्या ६ वर्ष अघि २०१० मा गरिएको अध्ययनमा देखिएको तथ्यांक भन्दा दोब्बर हो ।

केन्द्रले देशमा एचआइभीको जोखिममा रहेका मुृख्य समूहहरुबारे विभिन्न संस्थासँगको सहकार्यमा अनुमानित संख्या मापन गरिएको जनाएको छ । एचआइभीको जोखिममा रहेका मुख्य समूहहरुमा महिला यौनकर्मी, पुरुष यौनकर्मी, तेश्रो लिङ्गी, समलिङ्गी पुरुष, पुरुषसित यौन प्रकृयामा संलग्न हुने पुरुष, सुईको माध्यमले लागूपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुको यौन साथी पर्छन् ।


यसअघि गरिएको अध्ययनमा महिला यौनकर्मीहरुको अनुमानित अधिकतम संख्या २८ हजार तीनसय ५९ थियो । तर, सन् २०१६ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीहरुको अनुमानित न्युनतम संख्या ४३ हजार ८ सय २९ देखि अधिकतम ५३ हजार ४ सय ८९ देखिएको केन्द्रका निर्देशक डा.तरुण पौडेलले बताए ।

उनले यो अध्ययन स्थलगतरुपमा बैज्ञानिकरुपले उपयुक्त हुने गरी नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट मान्यता प्राप्त सर्वेक्षण गरिएको बताए । अध्ययनका क्रममा यति मात्रै नभई तेश्रो लिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष र पुरुषसित यौनकार्यमा सरिक हुने अन्य पुरुषको अनुमानित संख्या न्युनतम ८७ हजार ८ सय २६ देखि अधिकतम एक लाख ११ हजार आठ सय ७४ आंकलन गरिएको छ ।

यसअन्तर्गत तेश्रो लिङ्गी अधिकतम २४ हजार एक सय ८५ जना, पुरुष यौनकर्मी अधिकतम २० हजार ६ सय २५ जना, समलिङ्गी पुरुष र पुरुषसित यौन कार्यमा सरिक हुने अन्य पुरुष अधिकतम ६७ हजार ६४ जना आंकलन गरिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले सर्वेक्षणबाट आएको जानकारी र प्रमाणले स्वास्थ्य क्षेत्रमा भविष्यमा गरिने कार्यक्रमहरुलाई सघाउने बताए ।

यस अध्ययनले सुईद्वारा लागूपदार्थ लिनेहरुको अनुमानित अधिकतम संख्या ३४ हजार तीनसय ७५ रहेको जनाएको छ ।

यो अध्ययन मुलुकभरीका एचआइभीको जोखिममा रहेका मुख्य समूहको अनुमानित राष्ट्रिय संख्या आंकलन गर्नु रहेको जनाउँदै डा.पौडेलले यसको लागि ४४ जिल्लाबाट तथ्याङ्क संकलन गरिएको जनाए । बाँकी ३१ जिल्लाको तथ्याङ्कको लागि अध्ययन गरिएका जिल्लाको तथ्याङ्कलाई आधार बनाएर अनुमानित संख्या निकालिएका थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.