Tuesday, March 21, 2017

नेपालमाथि शक्ति राष्ट्रको सुरक्षा निगरानी बढ्दो

काठमाडौं, नेपालमा छिमेकी भारत, चीन र शक्तिराष्ट्र अमेरिकाको सुरक्षा चासो ह्वात्तै बढेको छ । नेपाली सेनालाई सैन्य सहयोग गर्ने अग्रणी राष्ट्रको सूचीमा रहेका यी तीनै राष्ट्रले आफ्ना स्वार्थ अनुरुपका सहयोग प्रतिस्पर्धासमेत गर्दै आएका छन् ।

नेपालको तराई अशान्त रहेको भन्दै यी राष्ट्रले आफ्ना नागरिकलाई औपचारिक÷अनौपचारिक ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेका छन् ।

 बैशाख ३१ का लागि घोषित स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा छिमेकी र शक्तिशाली राष्ट्रहरुले आफ्नो ध्यान नेपालतर्फ केन्द्रित गर्न थालेका हुन् । प्रधान सेनापति राजेन्द्रकुमार क्षत्रीले नेपालमा बाह्य सुरक्षा चुनौती बढेको धारणा राख्दै पूर्बी तराईको भ्रमण समेत गरिरहेकै बेला बिभिन्न कार्यक्रममा सहभागि हुन ती देशका सुरक्षा अधिकारीका नेपाल भ्रमण तय भएका हुन् ।

अमेरिकी नौसेना प्रमुख एडमिरल ह्यारी बी हयारिस जुनियर चैत ६ मा (१९ मार्च) मा नेपाल आएका छन् । उनी नेपाली सेना र अमेरिकी प्यासिफिक कमाण्डद्वारा आयोजित बहुपक्षीय शान्तिसेना अभ्यास ‘शान्ति प्रयास–३’ को निरीक्षणका लागि आएका हुन् । २७ राष्ट्रका सेना सहभागि हुने यो अन्तराष्ट्रिय सैन्य अभ्यास मार्च २० देखि ३ अप्रिलसम्म हुनेछ ।

अमेरिकी यी सैन्य अधिकारीले यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महत र प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ती भेटमा नेपाली र अमेरिकी सेनाबीच सहयोगका बारेमा छलफल हुने जनाइएको छ ।

अमेरिकी नौसेना प्रमुख नेपालमा रहँदै उत्तर छिमेक चीनका रक्षामन्त्री चाङ वाङयान १० चैत (२३ मार्च) मा नेपालको भ्रमणमा आउनेछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै दिन काठमाडौं आउने भएकाले रक्षामन्त्रीलाई भेटेपछि मात्र दाहाल चीन प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ ।

नेपाल–चीनबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्ने सहमति बमोजिम त्यसको तयारी भइरहेका बेला रक्षामन्त्री काठमाडौं आउन लागेका हुन् ।

 नेपाली सेना र चिनियाँ सेनाबीचको यो संयुक्त सैन्य अभ्यासप्रति भारतले सार्वजनिक असन्तुष्टि जनाएको छ । नयाँदिल्लीको समेत बिशेष चासो रहेको नेपाली सेना र चिनियाँ सेनाको यो संयुक्त अभ्यासको मिति भने सार्बजनिक गरिएको छैन । तर उच्च हिमाली क्षेत्रमा अपनाउनु पर्ने युद्धकौशल तिखार्न यो द्विपक्षीय सैन्य अभ्यास हुन लागेको हो ।

स्रोतका अनुसार, चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेबी भण्डारी, रक्षामन्त्री बालकृष्ण खाँड लगायतका उच्च नेपाली अधिकारीसँग पनि भेटवार्ता गर्नेछन् । रक्षामन्त्री खाँडको चीन भ्रमणपछि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भएको हो ।

 भ्रमणका क्रममा नेपाल र चीनबीच प्रतिरक्षा र सैन्य सहयोगबारे छलफल हुनेछ । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणपछि बंगलादेश र श्रीलंकाको भ्रमणमा जानेछन् ।
चिनियाँ रक्षामन्त्री लगत्तै भारतीय सेना प्रमुख बिपिन रावत मार्च २८ देखि ३१ सम्म नेपालको भ्रमणमा आउँदैछन् ।

 परम्परा अनुसार मानार्थ महारथीको उपाधी लिन भारतीय सेना प्रमुख काठमाडौं आउन लागेका भए पनि उनले पोखरा र मुक्तिनाथ भ्रमण गर्नेछन् भने राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल लगायतका उच्च अधिकारीलाई भेट्नेछन् ।

 राष्ट्रपति भण्डारीले सेनापति रावतलाई २९ मार्चमा मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । सन १९५० देखि नै दुई देशबीच एक अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीबाट सम्मान गर्ने परम्परा चलिआएको छ ।

मुस्ताङको मुक्तिनाथमा नेपाली सेनाले चलाएको उच्च हिमाली सैन्य युद्धकला तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । स्रोतका अनुसार, भारतीय सेनाप्रमुख र नेपाली सेनाका अधिकारीले दुई देशबीच सैन्य सहयोग बढाउने र सैन्य सामग्री खरिद लगायतका मुद्दामा छलफल गर्नेछन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.